२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ।

प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलको तर्फबाट दाबी प्रस्तुत गरे लगत्तै प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुखले नियुक्ति पत्रमा ‘संविधानको धारा १६८(२) बमोजिम तपाईँलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकाल सफलताको कामना गर्दछु,’ उल्लेख छ।

मुख्यमन्त्री थापा विक्रम संवत् २०१४ मङ्सिर १५ गते जन्मनुभएको हो । झापाको अर्जुनधारा नगरपालिका –४ का स्थायी बासिन्दा उहाँ नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघमा २०३२ सालमा सङ्गठित भएर राजनीति आरम्भ गर्नुभएको थियो ।

थापा २०४७ सालमा पार्टीको गाउँ समिति सचिव बन्नुभयो । २०४८ सालको आठौँ जिल्ला अधिवेशनबाट पार्टीको झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति निर्वाचित हुनुभएका उहाँ १० औँ जिल्ला अधिवेशनबाट झापा जिल्ला सचिव, ११ औँ अधिवेशनबाट उपसभापति र १२ औँ अधिवेशनबाट झापा जिल्ला सभापतिको भूमिकामा पुग्नु भएको थियो ।

व्यवस्थापन सङ्कायमा स्नातकसम्मको अध्ययन गर्नुभएका थापाले तत्कालीन जिल्ला विकास समिति झापाको राजनीतिक संयन्त्रको सदस्यको रूपमा तीन वर्ष काम गर्नुभएको छ ।

पहिलो पटक संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुभएका उहाँ नेकपा एमालेका उम्मेदवार प्रेम गिरीसँग पराजित बन्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस