२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

राम्रो काम गरे ८४ को चुनावमा कांग्रेस कुनै दलसँग डराउनु पर्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राम्रो काम गरे २०८४ को चुनावमा कांग्रेसले कुनै पनि दलसँग डराउनुपर्ने अवस्था सिर्जना नहुने बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरूबाट काँग्रेस डराउनु नपर्ने बताउनुभएको हो । उहाँले सरकारमा भएको बेला कांग्रेसले राम्रो काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता पौडेलले भन्नुभयो, ‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभरी गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिइसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एकल चुनाव जितिन्छ । कसैसँग डराउनु पर्दैन । ८४ मा चुनाव जित्ने किन सरकारमा जान होइन, अहिले पनि हामी सरकारमा त छौँ । हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जो जो नयाँ आए पनि हामीलाई कसैले केही गर्न सक्दैन।’

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गर्नुभयो। पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उहाँको भनाइ थियो । नेता पौडेलले चुनावका बेला प्रतिस्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेको भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गर्नुभयो । नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस