२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

नक्कली भुटानी शरणर्थी प्रकरणमा मुख्य योजनाकार तीन जना अभियुक्तको फेरि बयान लिइने

Fake Bhutanese refugee

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू भएको छ। साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका थिए। भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख छ।

जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। त्यही दिनदेखि नै अनुसन्धान अगाडि बढाइएको हो। जाहेरी दिएका १८ जनामध्ये ४ जनाको बयान लिइएको शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरीका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।

‘काठमाडौंका तीन जना र संखुवासभाका एक जनाको बयान लिइसकेका छौं, बाँकी जाहेरीकर्ताको पनि छिट्टै बयान लिन्छौं,’ उहाँले जानकारी दिनुभयो । बयानका क्रममा जाहेरीकर्ताले तीन जनालाई पैसा दिएको प्रमाण बैंक स्लिप प्रहरीलाई बुझाउनुभएको छ । उनीहरूले बुझाएका प्रमाण सही हुन् कि होइनन् भन्ने प्रमाणित गर्ने काम भइरहेको ती प्रहरी अधिकारीले जानकारी दिनुभयो ।

थप १८ जना जाहेरीकर्ताको बयान लिइसकेपछि उहाँहरूले किटानी गरेका व्यक्तिहरूको फेरि बयान लिइनेछ। फेरि बयान लिँदा पहिलो चरणजस्तो विस्तृत रूपमा हुँदैन। पीडितले दिएको बयानको बारेमा सोधपुछमात्र हुने उहाँले बताउनुभयो ।

थप आएको जाहेरीमा पक्राउ परिसकेका व्यक्तिहरूकै नाम उल्लेख छ। थप नाम जोडिएको छैन, अधिकारीले भन्नुभयो । यसअघि १२३ जनाले दिएको जाहेरीमा २० जना पक्राउ परेका थिए। तीमध्ये २ जना छुटिसकेका छन्। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्। यो प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरकारले समय नपुग्दै सरूवा गरेकाले नयाँ उजुरीमाथि पहिलाको जस्तै गरी छानबिन हुन्छ कि हुन्न भन्नेमा धेरैले आशंका गरेका छन्।

 

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस