२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बेमौसमी वर्षाले धानबाली सखाप

मकवानपुर । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्। सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए।

उनले भने, “मङ्गलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पुर्‍याएको छ। धान भित्र्याउन जुटेका किसान बाली नोक्सान भएपछि चिन्तित छन्।” अझै वर्षा भएमा पाकेको धानबाली खेतमै कुहिने चिन्ता बढेको उनले बताए।

किसान विष्णुकुमारी बजगाईँले पाकेको धान काटेर खेतमा सुकाएको जनाउँदै बेमौसमी पानीले धान र पराल दुवैमा असर गरेको बताइन्। वर्षभरी खाने उपजमा वर्षाले क्षति गरेपछि किसान चिन्तित भएका उनको भनाइ थियो।

गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हावासहित आएको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको बताए। मकवानपुरगढीका साथै मनहरीको रजैया, ज्यामिरे, सिमपानी, हाडीँखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस