२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

भूकम्पमा परी १३२ जनाको मृत्यु, १५८ घाइते भएको सरकारी पुष्टि

काठमाडौं । शुक्रबार रातिको भूकम्पका कारण १३२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। प्रहरी संयन्त्रबाट संकलित यो तथ्यांक गृह मन्त्रालयमा बसेको सुरक्षा निकायका अधिकारीहरूसँगको बैठकमा प्रस्तुत गरिएको हो।

तर, स्थानीय जनप्रतिनिधिले भने योभन्दा धेरै क्षतिको विवरण टिपाएका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा हालसम्मको क्षति, उद्धार र राहतका कामबारे समीक्षा भएको छ।

सशस्त्र प्रहरी बल, नेपालले दिएको जानकारी अनुसार, सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ। जाजरकोटमा ९२ जनाको मृत्यु भएको विवरण सशस्त्रले संकलन गरेको छ। जजरकोटमा क्षतिग्रस्त भवन तथा अन्य संरचनामा च्यापिएका ३१ जनालाई जीवितै उद्धार गर्न सम्भव भएको छ। त्यहाँ ७० जना घाइते छन्।

रुकुम पश्चिममा ४० जनाको ज्यान गएको सुरक्षा निकायले पुष्टि गरेका छन्। त्यहाँ ८५ जना घाइतेको अभिलेख तयार भएको छ।
यस्तै दैलेखमा २ र रोल्पामा १ जना घाइतेको उपचार भइरहेको छ। जाजरकोट र रुकुम पश्चिममा धेरै भवन–संरचना भत्किएका र सबैतिर खोजबिन तथा उद्धारका प्रयास हुन नसकेकाले सम्पर्कविहीनको यकिन तथ्यांक तयार नभइसकेको सुरक्षा निकायहरूले बताएका छन्।

रातिको समयमा भूकम्प गएको, धेरै विकट क्षेत्रमा छरिएका बस्ती रहेका र कमजोर घरहरू भएका कारण यकिन विवरण प्राप्त हुन कठिन भएको हो। कतिपय क्षेत्रमा सडक भत्किएका कारण प्रभावित क्षेत्रसम्म उद्धारकर्मी पुग्न सकेका छैनन्।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस