२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

राप्रपाद्वारा आह्वान अनिश्चितकालीन कञ्चनपुर बन्द निष्प्रभावी

Indefinite Kanchanpur bandh called by RPP ineffective

काठमाडौं । राप्रपा कञ्चनपुरले आफ्ना नेता–कार्यकर्ता पक्राउको विरोधमा आज (शनिबार) देखि लागू हुनेगरी अनिश्चितकालीन कञ्चनपुर बन्दको आह्वान गरेको छ। कञ्चनपुरमा राप्रपाले घोषणा गरेको बन्द अहिलेसम्म निष्प्रभावी रहेको प्रहरीले जनाएको छ। बन्दलाई ध्यान दिएर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन्।

बन्द आह्वान गरे पनि बजार तथा सडकमा आन्दोलनकर्ता देखिएका छैनन्। ‘अहिलेसम्म अवस्था सामान्य छ। गाडीहरु चलिरहेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘बजार खुलेको छ। बन्दकर्ता देखिएका छैनन्।’

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिका रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जना राप्रपा कार्यकर्तालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ। गणतन्त्रविरोधी प्रदर्शनमा सहभागी आक्रोशित राजतन्त्र समर्थकले भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए।

राप्रपा कञ्चनपुरले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर आफ्ना कार्यकर्ता समातेकाले अनिश्चितकालका लागि कञ्चनपुर बन्दको आह्वान गरिएको जनाएको छ। राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले हिरासतमा राखिएका नेता–कार्यकर्ता निःसर्त रिहा नहुँदासम्म बन्द जारी रहने बताए।

‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको वैद्धिक, सनातन हिन्दु राष्ट्र पुनर्स्थापना अभियान’ले निकालेको जुलुसका क्रममा शुक्रबार भीमदत्त पन्तको सालिक तोडफोड गरिएको थियो। तत्कालीन राजा महेन्द्रले निर्माण गरेको वाटिकाको नाम भीमदत्त राखिएको भन्दै आक्रोशित राजावादी समर्थकले सालिक तोडफोड गरेका हुन्।

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस