२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

अस्पतालले मृत घोषणा गरेका प्रताप घाट लिन लाग्दा जीवित भएपछि…

काठमाडौं । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उहाँलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो ।

स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आउनुभएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस हुनुभएको थियो । उहाँलाई तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उहाँलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उहाँकी श्रीमती सीता सदाले बताउनुभयो ।

शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको समाजसेवी राजेन्द्र पोख्रेलले बताउनुभयो । सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उहाँ जीवित पाइएको समाजसेवी कटुवालले जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस