काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले अथाह साथ, समर्थन र उत्साह पाएको बताएका छन् । सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको बताए । ’यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भने ।
देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताए । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीको भनाई छ । यो देश बनाउन पर्छ भन्ने बुझेर नै जनताले एमालेको समृद्धिको लागि संकल्प यात्रामा साथ दिएको ओलीको दावी थियो ।
देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिए । नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गरे । ‘बाघको छाला लगाएका तर स्याल, त्यस्ताले पार्टी सिद्ध्याउन खोजे, हामीलाई त पार्टीको साधारण सदस्यबाट नै निकालिदिए’, ओलीले भने ।
एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताए । प्रमुख पार्टी हुनका लागि, सरकारमा जानका लागि वा मन्त्री हुनका लागि मात्र नेकपा एमाले नबनेको उनले स्पष्ट पारे । एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको ओलीले बताए । सरकारले ल्याएको यो बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगर्ने उनले प्रष्ट पारे । अहिले अर्थतन्त्र ओरालो लागेको र युवा पलायन बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे ।
गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने ओलीले बताए । सरकार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्ने अवस्थामा पुगेको उनको भनाइ छ । सकरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको ओलीले बताए । यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, ओलीले भने । अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताए । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएको उनले स्पष्ट पारे ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

