२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

कथित पहिचानवादीको घुर्मीमा एमालेको चिहान खन्ने धम्की नागरिकद्वारा खारेज, संकल्प यात्रालाई व्यापक जनसमर्थन

काठमाडौं । नेकपा (एमाले) ले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली मंगलबार दिउँसोबाट कोशी प्रदेश प्रवेश गरेको छ । मंगलबार रामेछापको मन्थलीबाट सुरु भएको यात्रा सिन्धुलीको खुर्कोट हुँदै उदयपुरको घुर्मीबाट कोशी प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई बागती प्रदेशको सिन्धुली जिल्लाबाट विशेष सम्मानका साथ कोशी प्रदेश भित्र्याइयो । कोशी प्रवेश गर्ने बादुरे खोलाको पुलमा कोशी प्रदेशका नेताहरूले भव्य स्वागत गरे । त्यस पछि घुर्मीमा अभियानको टोलीलाई विशेष स्वागत गरिएको थियो ।

घुर्मी पारी ओखलढुङ्गाको हर्कपुरमा विशाल जनसभा आयोजना गरिएको थियो । सभामा ठूलो सङ्ख्यामा एमालेका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कथित पहिचानवादीले घुर्मीमा एमालेको चिहान खन्ने धम्की दिँदै कार्यक्रम भाँड्ने प्रयास गरेका भए पनि नागरिकले त्यसलाई खारेज गरिदिएका छन् ।

नागरिकले व्यापक उपस्थिति जनाएर उनीहरूको धम्की खारेज गरिदिएका हुन् । एमालेको चिहान खन्ने धम्की दिने कथित पहिचानवादी एमालेको पक्षमा व्यापक जनलहर उर्लिएपछि तर्सिएका छन् । अभियान कोशी प्रदेश प्रवेश गरेसँगै हर्कपुरमा आयोजित कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश इञ्चार्ज गुरु बरालले कोशी प्रदेशका इञ्चार्ज रघुवीर महासेठलाई राष्ट्रिय झण्डा र बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको झण्डा हस्तान्तरण गरे । झण्डा हस्तान्तरण गरेसँगै अभियान हाँक्ने जिम्मा औपचारिक रूपमा कोशी प्रदेशले लिएको छ । अब संकल्प अभियान पुस २ गते बिहानसम्म कोशी प्रदेशमा रहने छ ।

कोशीमा कथित पहिचानवादीले कार्यक्रम भाँड्छन्, घुर्मी र हर्कपुरमा झडप हुन्छ, वितण्डा मच्चिन्छ भन्दै फिँजाइएको भ्रमलाई स्थानीयले तोडिदिएका छन् । सुनकोसी नदी किनारको हर्कपुरको चौर पुरै ढाक्ने गरी स्थानीय भेला भएपछि सबै गलत प्रचारलाई चिरिदिएको छ ।
हर्कपुरमा आयोजित सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि अघि बढेको संकल्प यात्राको टोली मंगलबार साँझ हलेसी हुँदै खोटाङको सदरमुकाम दिक्तेल पुगेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अभियानमा नागरिकको सक्रिय सहभागिता भएको भन्दै प्रशंसा गरे । नागरिकले कार्यक्रम स्थल, सडक र घरबाट समेत एमालेको संकल्प अभियानलाई समर्थन गरेको बताए । यात्राका क्रममा नागरिकका गुनासो र सुझाव सुनेको ओलीको भनाइ छ । जनताले दिएका सुझावहरू काठमाडौं पुगेर व्यापक अध्ययन र छलफल गर्ने उनले जानकारी दिए ।

ओलीले नेकपा एमालेले मात्रै देशमा शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताए । ‘कानूनको राज, न्यायको राज त्यो नेकपा एमालेले मात्र गर्न सक्छ’, ओलीले भने । ओलीले भावनामा बगेर देश नबन्ने स्पष्ट पारे । राष्ट्रिय एकताबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उनले प्रष्ट पारे । जनताको बिचमा फोटो ल्याएर देश बनाउन नसकिने उनले बताए । राजनीतिक विषयमा हुने मतभेदलाई वैधानिक बाटोबाट छलफल गरी समाधान गर्नुपर्नेमा उनले जोड दिए । ‘हामी एकताबद्ध भएर राष्ट्र निर्माणको काममा अगाडि बढौँ, हामी एकजुट भएर अगाडि बढौँ समस्या समाधान गर्न सकिन्छ’, उनले भने ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस