२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्यो, यो राज्यले गरेको हत्या हो : लामिछाने

काठमाडौं । पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेले शुक्रबार बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँको फेसबुक स्टाटस यस्तो छ :
आज (शुक्रबार) बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ।
दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्।
आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस