२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बालकुमारी घटना देखिए जस्तो मात्र छैन, भित्र अर्कै केही छ : प्रधानमन्त्री प्रचण्ड

Prime Minister Pushpa Kamal Dahal Prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको दावी गरेका छन् ।

मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना पूर्वानुमान गर्नसक्ने खालको नभएको बताए । पूर्वनिर्धारित कार्यक्रममा दोलखा पुगेर फर्किने क्रममा थाहा पाएको र भोलिपल्ट ब्रिफिङ लिएपछि आफूलाई उक्त घटना केही गम्भीर लागेको उनले सुनाए ।

‘दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो गतिविधि भएको छ’ उनले भने, ‘चिज यस्तो छैन, जस्तो देखिएको छ । यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु । आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए । त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।’

सरकारले गर्नसक्ने कामहरु तुरुन्त गरेको भन्दै उनले केही गलत भाष्य बनिरहेको बताए । जनतालाई निराशा बाँड्ने राष्ट्रवादी हुनसक्ने भन्दै प्रचण्डले गरेका राम्रा काम स्थापित गर्न आँट गर्नुपर्ने बताए । सरकारलाई प्रभावकारी बनाउन आफैंले केही नयाँ गर्छु भनेर सुरु मात्र गरेको भन्दै उनले सहयोगको अपेक्षा गरेको बताए । ‘राम्रो कामको ओनरसिप लिन डराउन पनि भएन’, आफूले केही जोखिम उठाएर यो वातावरण बनाएको भन्दै उनले भने, ‘प्रचण्ड, सानो पार्टीको नेता केके कताकताबाट प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेका राम्रा कामको स्वामित्व दिन डराइदिन भएन ।’

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस