२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गृहमन्त्रीको चर्को आलोचना गर्दै रविले भने विदेशमा गएर केही गर्छु भन्ने दुई युवाको राज्यले हत्या गर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ पदको लोभ गर्ने व्यक्तिमा रुपान्तरित भएको बताए । उनले भने, ‘गृहमन्त्री त्यो नारायणकाजी श्रेष्ठ रहेन, जसले इमानको राजनीति गर्थ्यो । जसको राजनीतिलाई आउने पुस्ताले उदाहरणका रुपमा लिन्थ्यो ।’

गृहमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकृतहरुको सरुवा गरेको, सुन प्रकरणमा प्रहरीलाई राम्रोसँग काम गर्न नदिएको उनको दाबी छ । रास्वपा सभापति लामिछानेले अगाडि भने, ‘मानिसहरु जोगाउनुपर्ने तपाईंको मनसायकै कारण प्रहरी तपाईंको भनाइ नटेर्ने अवस्थामा पुग्यो । गत शुक्रबार भएको बालकुमारी घटना पनि त्यसकै निरन्तरता भएको उनको दाबी छ । विदेशमा गएर केही गर्छु भन्ने दुई युवाको राज्यले हत्या गरेको लामिछानेले बताए ।’

गृहमन्त्री श्रेष्ठप्रति आक्रामक रुपमा प्रस्तुत भएका लामिछानेले संविधानको मर्म विपरीत राष्ट्रियसभामा आएको र गृह मन्त्रालयका लागि मरिहत्ते गरेको बताए । आफूप्रति प्रतिशोध राखेको उनको आरोप छ । पत्रिकामा आएको हेडलाइनलाई हेरेर आफ्नो विषयमा छानबिन गर्न समिति बनाएको तर प्रतिवेदन सार्वजनिक नगरेको भन्दै लामिछानेले भने, प्रतिशोध रोग हो, शरीरभित्र नपाल्नुहोला ।’

आज आफूले उठाएको प्रश्नलाई पनि सहज रुपमा लिन उनले आग्रह गरे । ‘हामी सरकारमा आउन लाग्यौं । यो सरकारमा आयो भने यसले गृह मन्त्रालय लिन्छ कि क्या हो भन्ने कसैले भनिदिएर त्यसमा लाग्नुभयो कि भन्ने मलाई शंका लाग्यो’, लामिछानेले गृहमन्त्री श्रेष्ठलाई भने, ‘म र मेरो दल यो रेसमा छैनौं ।’

 

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस