२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कुकुरको टोकाइले २० च्याङग्रा मरे

20 Changra died due to dog bites

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन्। व्यापार कम्पनीले दसैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन्। दसैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गए राती २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ।

कम्पनीले उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो। बुधबार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले जानकारी दिए। उनले बुधबार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको बताए।

‘बुधबार बेलुकासम्म सबै च्याङग्राहरु स्वस्थ नै थिए। राति च्याङ्ग्रा मरेकाले सिसिटिभी फुटेज हेरेर थाहा पाएका हौं। मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ। भेटनरी डाक्टरहरुका अनुसार कुकुरले टोकेको होकी भन्नुभएको छ। राति १२ बजे दुई तीन वटा कुकुर भित्र छिरेको देखिन्छ। च्याङ्ग्रा ल्याएको तीन महिना भइसक्यो। दसैँको लागि लक्षित गरेर ल्याएको हो। छठसम्म बिक्री गर्दा ४७ वटा च्याङ्ग्रा बाँकी थियो।’ उनले भने।

केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेको देखिएको बताए। च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको उनको भनाइ थियो। कम्पनीले ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखिएको थियो। गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरे पनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो।

 

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस