२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

१२ जनाको मृत्यु, २३ जना गम्भीर घाइते हुनेगरी भएको दुर्घटनाको कारण चालकले बयानमा खुलाए

In a statement, the driver revealed the cause of the bus accident that killed 12 people and seriously injured 23 people

दाङ । राप्ती नदीमा खसेको बसका चालकले टायर नमोडिएपछि बस नदीमा खसेको बताएका छन्। बस सल्यान त्रिवेणी गाउँपालिका- ४ का २८ वर्षीय लाल बहादुर नेपालीले हाँकेका थिए।

उनले प्रहरीसँगको बयानमा बसको सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बताएका दाङका डिएसपी जनक मल्लले जानकारी दिए। चालक नेपाली सामान्य घाइते छन्। दुर्घटनापछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको छ। बाँकेको नेपालगंजबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति साढे १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो।

दाङमा बस दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ। थप २३ जना घाइते भएका छन् । मृतकहरूमा १ महिला र ११ पुरूष छन्। मृतकमध्ये ८ जनाको परिचय खुलेको छ। मृतकहरूमा बाँके नेपालगंजका ६० बर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ बर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ बर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ बर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० बर्षीय मुनबहादुर रावत, बाँकेका ३० बर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ बर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन्।

त्यस्तै नाम थर र वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरुष, ५२ बर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ बर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको डिएसपी मल्लले जानकारी दिए। दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता मल्लले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।

 

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस