२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

चौतर्फी दबाबपछि प्रधानमन्त्रीले सचिवालयबाट १३ जनालाई हटाए, हैसियत नभएका कयौंलाई सचिव-उपसचिव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौतर्फी दबाब आएपछि सचिवालयबाट १३ जनालाई हटाएका छन्। उनीहरूलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ। हैसियत नै नभएकाहरु कसैलाई मन्त्रालयको सचिव, सहसचिव र उपसचिव बनाएको भन्दै चौतार्फी आलोचना भएको थियो । छोरी गंगा दाहाललाई मन्त्रालयको सचिव सरहको सुविधा दिएर राखेकोमापनि जानकारहरुको आक्रोश छ ।

आलोचनापछि प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगाना र स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईंलाई बिदा गरेको छ । त्यस्तै स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिवकै भूमिकामा रहेकी सावित्रीकुमारी अधिकारी पनि हटाइएकी छिन्।

स्वकीय उपसचिव कलबहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह पनि हटाइएका छन्। यसैगरी प्रशासन सहायक रामलाल पराजुली, कम्प्युटर सहायक बासुदेव शर्मा कम्प्युटर सहायक, कम्प्युटर सहयोगी खड्क योगी, कार्यलय सहायक अविनाश वाइवा, हलुका सवारी चालकद्वय रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाहीलाई बिदा गरिएको छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए। त्यसअनुसार सचिवालयका १३ जना कर्मचारी कटौतीमा परेका हुन्। प्रधानमन्त्रीको सचिवालयमा ५२ जनाको दरबन्दी रहेको छ। जसमध्ये प्रधानमन्त्रीले ३५ जनालाई सचिवालयमा नियुक्ति दिएका थिए। उनीहरूमध्ये २० जनालाई हटाउने तयारी रहेको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस