२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रुसी र युक्रेनी सेनामा जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्नूस्, फर्काउन मुस्किल देखियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न अनुरोध गरेका छन् । आइतबार बिहान तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, संविधानको मर्मविपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती नहुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री दाहालले विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे । उनले रुसलाई युगान्डम भ्रमणका क्रममा पनि नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाएदिन आग्रह गरिएको पनि बताए ।

प्रधानमन्त्री दाहालले के भने ?

‘रुस वा युक्रेनमा त्यहाँको लडाइँमा नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन । जोसँग सम्झौता भएका विगतका भारत र इंग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन । रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटकपटक यो विषयमा कुरा गर्नुभएको छ युक्रेनसँग, रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ । तपाईंले फिर्ता पठाइदिनुपर्छ भनेका छौँ । मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायतमा । सरकारले गम्भीर रूपमा लिएन भन्ने कुरा सही होइन । सबैले जनतामा चेतना फैल्याउनुपर्छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीत विपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ । सरकार गम्भीर छ । यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन । सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन ।’

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस