२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कांग्रेस नेता द्रौपदा शर्मा पोखरेलको निधन

Congress leader Draupada Sharma Pokharel passed away

काठमाडौं । नेपाली कांग्रेसकी नेता द्रौपदा शर्मा पोखरेलको निधन भएको छ। १०२ वर्षीया पोखरेलको मंगलबार बिहान काठमाडौंको सामाखुसीस्थित रानीवारीमा रहेको निवासमा निधन भएको हो।

पोखरेलले २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनर्स्थापनाका लागि योगदान दिएकी थिइन्। उनी स्थानीय महिला संघ अध्यक्षसमेत भएकी थिइन्। पति गोबर्धन शर्मा पोखरेललाई पञ्चायतले सर्वस्व हरण गरेपछि उनलाई पनि २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरी पोखरा पुर्‍याएर हिरासतमा राखिएको थियो। उनी गोबर्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक पनि थिइन्।

उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको छोरा रामचन्द्र पोखरेलले जानकारी दिए। उनका छोराहरू रामचन्द्र, कृष्णचन्द्र, जगदीशचन्द्र र सुवास छन् भने छोरी प्रियंवदा र सत्यदेवी हुन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले द्रौपदाको निधनको खबरले आफूलाई दुखी बनाएको बताएका छन्। पोखरेलका परिवारका सदस्यहरूलाई टेलिफोन गरी राष्ट्रपति पौडेलले द्रौपदाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस