२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

झन् तल झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौं । आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दोस्रोपटक बिहान ८:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखाएको हो।

यसअघि आजै बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो। पछिल्लोपटकको मापनमा प्वइन्ट ४ डिग्री सेल्सियस घटेर ३ डिग्री सेल्सियस मात्र रहेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।

हिजो बुधबार पनि उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस नै थियो। मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनतम तापक्रम कम हुँदा बिहान चिसो बढ्छ। मौसम बदली र वर्षाका बेला केही दिनअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियससम्म उक्लिएको थियो।

मौसमविद् मानन्धरका अनुसार राति मौसम बदली भयो, आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्री सेल्सियसभित्र रहने अनुमान गरिएको मौसमविद् मानन्धरको भनाइ छ।

हिजो बुधबार उपत्यकाको अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस थियो। दिउँसो आकाश बादल लाग्यो, घाम लाग्न पाएन, वर्षा भयो भने अधिकतम तापक्रम घट्छ र चिसो बढ्छ, दिउँसो घाम लाग्यो, आकाश सफा भयो भने अधिकतम तापक्रम बढ्छ र न्यानो हुन्छ।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। यसको अर्थ आज आकाशमा थोरै बादल देखापरे पनि मजाले घाम लाग्छ। आगामी दुई/तीन दिनलाई काठमाडौँ उपत्यकासहित देशभरि नै पानी पर्ने सम्भावना नदेखिएको उनको भनाइ छ।

 

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस