२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

रामग्राम क्षेत्र भाडामा लगाउने सम्झौता खारेज

काठमाडौं । बुद्धको अस्थिधातु रहेको नवलपरासीको रामग्राम स्तूप क्षेत्र निजी कम्पनीलाई ९९ बर्षकालागि लिजमा दिने लुम्बिनी विकास कोषको निर्णय खारेज भएको छ।

कोषको आज काठमाण्डौँमा बसेको बैठकले गौतमबद्धको अस्थिधातु रहेको रामग्राम स्तूप क्षेत्र लिजमा दिन प्रमिष्डल्याण्ड कम्पनीसँग गरेको समझदारी (एमओयु) खारेज गर्ने निर्णय गरेको हो।

यसअघि सोमबार मात्रै संसद्को सार्वजनिक लेखा समितिले रामग्राम स्तूप क्षेत्र निजी कम्पनीलाई लिजमा दिन गरिएको सम्झौता खारेज गर्न निर्देशन दिएको थियो।

कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

‘लेखा समितिले दिएको निर्देशन पालना गर्दै रामग्राम स्तूपको विकास र संरक्षणका सन्दर्भमा गरिएको समझदारी कार्यान्वयन नगर्ने निर्णय बैठकले गरेको छ’ कोषका सदस्य सचिव शाक्यले भने।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस