२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ। आइतबार प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १४ गते दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्ने माग गरेका हुन्।

बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो। आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस समेत गरेको थियो। मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगले ठहर गरेको थियो।

आयोगले मन्त्रीलाई नै दोषी ठहर गर्दासम्म पनि प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमालेले उनीहरूलाई तत्काल पदबाट हटाउन एमालेले माग गरेको हो। ुसरकारको मन्त्री मुख्य दोषी भनेर किटान गरेको आज २८–३० घन्टा बितिसक्दा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ। मन्त्रीलाई बर्खास्त गरेको सूचना हामीले पाएनौं,’ बर्तौलाले भने, ‘घटनामा जोडिएको मन्त्रीलाई जिम्मेवारीबाट हटाइयोस्, बर्खास्ती गरियोस्।

प्रहरीको नेतृत्व गृह मन्त्रालयले गर्ने भएकाले गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने उनले बताए। घटनापछि कर्मचारी र प्रहरीलाई कारबाही गरिएको तर मन्त्रीहरूमाथि कुनै एक्सन नलिएकोमा एमालेले आपत्ति जनाएको छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस