२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

साउदी, कतारमा कमाएर फर्किएका पैसाको लोभले रुसमा अस्ताए, श्रीमती, दुई छोरी र छोरा शोकाकुल

russian army

गण्डकी, १० फागुन । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए ।

गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए । “रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ”, उनले भने “थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ ।”

मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिए । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहनुभएका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताए । “रुसी सेनामा भर्ना भएको तस्वीर उनले नै सार्वजनिक गरेका थिए, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताएका रहेछन्”, वडाध्यक्ष घर्तीले भने, “उनको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।”

विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढुभाइ सनबहादुरले बताए । वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुगेका थिए । विकका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस