२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

अम्बानीको घडी देखेर दंग परेका थिए मार्क जकरवर्गका दम्पती

Mark Zuckerberg's couple was shocked to see Ambani

काठमाडौं । अहिले भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्तको बिहेले भारतको जामनगर गुलजार भएको छ। भारतीय सञ्चारमाध्यमदेखि कलाकार, व्यवसायी, खेलाडी र सबैजसो सेलेब्रेटी जामनगरमा छन्। अनन्तको ‘प्रि-वेडिङ’ समारोहमा चर्चित विदेशीहरू सहभागी हुन आएका छन्। बिल गेट्स, मेलिन्डा गेट्स, मार्क जकरवर्ग, उनकी पत्नी प्रिसिला चान, रिहाना लगायतको उपस्थितिले अम्बानी परिवारले अन्तर्राष्ट्रिय समुदायमा राम्रो सम्बन्ध विस्तार गरिरहेको प्रस्ट हुन्छ।

यसैबीच अनन्त र राधिका मर्चेन्टको प्रि-वेडिङको दोस्रो दिनको एक रोचक भिडिओले अहिले सामाजिक सञ्चालहरूमा चर्चा पाइरहेको छ। प्रि-वेडिङको दोस्रो दिनलाई अम्बानी परिवारले जंगल थिम नाम दिएको छ। यसका लागि जंगलको झल्को दिन लुगा लगाएर पाहुनाहरू उपस्थित भएका थिए। यसैबीच फेसबुकका संस्थापक मार्क जकरवर्ग र उनकी पत्नी प्रिसिला अनन्तसँग कुराकानी गरिरहेको भिडिओ सामाजिक सञ्जालमा छाएको छ।

उक्त भिडिओमा मार्क र प्रिसिला अनन्तको हातको घडी देखेर दंग परेका देखिन्छन्। आकर्षक घडी देखेर प्रिसिलाले घडीबारे सोध्छिन्। मार्कले पनि आफूले घडी नलगाउने भए पनि अनन्तको घडी सुन्दर भएको बताउँछन्। ‘यो घडी एकदमै राम्रो छ, कूल छ,’ प्रिसिला घडी हेर्दै भन्छिन्। त्यसमै मार्क थप्छन्, ‘हो नि, मैले उसलाई यो कुरा अघि भनिसकेँ।’

मार्क फेरि भन्छन्, ‘मलाई कहिल्यै घडी लाउन त मन लागेन। तर यो देखेपछि घडीहरू कूल हुने रहेनछन् भन्ने मलाई लागेको छ।’ उनीहरूले घडीका बारेमा केही प्रश्न पनि सोध्छन्। अनन्तले हाँस्दै आफ्नो यो घडी ‘युनिक’ भएको बताउँछन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार अनन्तको यो घडी ‘रिचर्ड मिल’ ब्रान्डको हो। यो घडीको दाम १८ करोड भारू भएको अनुमान गरिएको छ। तर अनन्तले लगाएको घडी ‘युनिक’ र विशेष डिजाइनको भएकाले यसको खास मूल्य कति हो भन्नेबारे जानकारी छैन। १ मार्चदेखि ३ मार्चसम्म अनन्त र राधिकाको प्रि-वेडिङ समारोह राखिएको हो। समारोहमा अमेरिकी गायिका रिहानाले प्रस्तुति दिइसकेकी छन्। यही समारोहमा शाहरूख खान, सलमान खान र आमिर खानले एक मञ्चमा प्रस्तुति दिएका थिए।

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस