२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मधेशका सभामुखलाई ‘महामूर्ख’ र अर्थ मन्त्रालयका सचिवलाई पटमूर्खको उपाधि

काठमाडौं । मिथिला नाट्यकला परिषद्ले प्रदान गर्ने ‘महामूर्ख’ को उपाधि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको छ। होलीको अवसरमा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई ‘महामूर्ख’ को उपाधि प्रदान गरिएको हो। मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ।

सम्मेलनमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई विभिन्न पदवीले सम्मान गरिन्छ। यो सम्मेलनमा महामूर्ख सहित १३ वटा मानपदवी प्रदान गरिंदै आएको छ। यस वर्ष पटमूर्खको उपाधि मधेशको अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मूर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ।

त्यस्तै, सदाबहार मूर्खको उपाधि महावीर दासलाई, वैशाखानन्दनको उपाधि अभियन्ता दिनेश पुर्वेलाई, खेसारीलालको उपाधि साहित्यकार नित्यानन्द मण्डललाई, स्थायी मूर्खको उपाधि शुभाषचन्द्र साहलाई, ग्रामीण परवाहास्थित युवा नाट्यपरिषद्लाई निर्विकल्प मूर्ख र महोत्तरीको पिपरा नगरपालिकाकी उपमेयर वन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ।

यससँगै हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्णलाई, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साहलाई, बुरिराजको उपाधि विमल पण्डितलाई, बज्रकिटको उपाधि योगेन्द्र पण्डितलाई र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ। मैथिली भाषा, साहित्य, कला, संगीत र नाट्य क्षेत्रमा काम गर्दै आएको परिषद्ले २८ वर्षदेखि होली महोत्सव र महामूर्ख सम्मेलन गरी होली पर्व मनाउँदै आएको छ।

 

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस