धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ६ र ७ नं वडा सिमानामा पर्ने दुई वटा सामुदायिक वनमा भीषण डढेलो लागेको छ । नगरपालिकाको मुकाम जीतपुर नजिकको बनपाला र छुम्लिङ गाउँको नजिक दुरीमा रहेको गढीसिंहदेवी सामुदायिक वनमा डढेलो लागेको प्रहरीले जनाएको छ ।
याङपाङ गाउँसमेत जोखिममा रहेपछि प्रहरी र स्थानीयवासीले अग्नीरेखा बनाएर नियन्त्रण गरिएको जीतपुर प्रहरी चौकीका इन्चार्ज हरिकुमार पुरीले जानकारी दिए । बजार क्षेत्र नजिकसम्म फैलिएको आगो नियन्त्रणमा आएको उनले बताए । झाँक्री पार्क क्षेत्रमा भने डढेलो नियन्त्रण बाहिर रहेको पुरीको भनाइ छ ।
दिउँसोदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् । सामुदायिक वनको डढेलोले नजिकै रहेको काफ्ले गाउँ जोखिममा रहेको छ । त्यस क्षेत्रका करिब ५० घर जोखिममा रहेको जनाइएको छ । आगो निभाउन प्रहरी, सामुदायिक वनका उपभोक्ता लगायत स्थानीयवासी सक्रिय रहेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव रायाले जानकारी दिए ।
सयौंको संख्यामा आगो निभाउन जुटेकोले नियन्त्रणमा आउन सक्ने सम्भावना रहेको उनको भनाइ छ । तर, बाटोको पहुँच नभएकाले दमकल पुर्याउन नसकिएको जनाइएको छ । छुम्लिङ क्षेत्रबाट सुरु भएको डढेलो नजिक रहेको दुई वटा सामुदायिक वनमा सल्किएको थियो । अत्यधिक हावाको कारण आगो नियन्त्रण बाहिर गएको स्थानीयको भनाइ छ ।

