२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

बझाङको प्रदेशसभा उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

२४ चैत, काठमाडौं । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । तर उनको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि यो क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक उनै दिवंगत नेता पृथ्वी सिंहका छोरा हुन् ।

४ मंसिर २०७९ को चुनावमा यो क्षेत्रमा कांग्रेसलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन थियो । तर अहिले यी दुबै दलले आ-आफ्ना उम्मेदवार खडा गरेका छन् । एमाले-माओवादीको नयाँ सत्ता समीकरण बने पनि एमाले उम्मेदवार भण्डारीलाई यहाँ अरु दलले समर्थन गरेका छैनन् ।

 

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस