२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पूर्व राजा ज्ञानेन्द्रले भने: ‘विधि, शब्द र रूप जति बदलिए पनि गुणात्मक परिवर्तन हुन सकेन’

Former King Gyanendra Shah giving a special address in Jhapa

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन्। साथै राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्ने बताएका छन्। उनले नयाँ वर्ष २०८१ को शुभकामना दिँदै भनेका छन्, ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ।’

उनले देशको गौरव पनि नबढेको र देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नआएको उल्लेख गरेका छन्। ‘जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, पूर्व राजा शाहले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो। शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको व्यवस्था खस्किँदै जानु आजको विडम्बना हो।’

उनले उन्नत राजनीतिक विधि विधानले उच्चतम उपलब्धि र आशा जगाउन नसकेको उल्लेख गरेका छन्। ‘जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ। तर हामी कहाँ दायाँ बायाँ जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकाङ्क्षा र भरोसा खल्बलिदै गएको छ’, पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो। त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौँ, गम्भीर भएर सोचौँ, सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौँ मान्छे मानवीय समाज, विविध वर्ग र समुदाय आकार प्रकार शील स्वभावका आधारमा फरक फरक भए पनि – राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्छ– स्थिरता, स्थायित्व र निरन्तरता त्यसमा रहनु पर्छ। आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ।’

उनले देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना दिएका छन्। ‘हामी विक्रम सम्बत २०८० लाई बिदाइ गरेर यतिखेर २०८१ मा प्रवेश गरेका छौँ। नव वर्षको अवसरमा हामी देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूको सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना प्रकट गर्दछौँ’, पूर्व राजा ज्ञानेन्द्र« शाहले भनेका छन्।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस