२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

फेरी लागेन मकैको घोगामा दाना, कृषकहरूको लगानी खेर

काठमाडौं । खेतबारीमा मकैका बोट लहलह छन्। टाढाबाट हेर्दा बोटमा ठुला घोगाहरू पनि लागेको देखिन्छ। तर नजिकै गएर घोगा कोट्टाएर हेर्दा अधिकांशमा मकैको दाना नै देखिँदैन। डाँठहरू मात्र देखिन्छ। मकैका घोगामा दाना नलागेपछि मकै बाली उत्पादनमा गरिएको लगानी खेर गएको भन्दै कृषकहरू निराश हुन थालेका छन्। ‘आम्दानी धेरै होला भनेर यस वर्ष पायोनियर कम्पनीको ३३५५ जातको बिउँ दुई बिगाहा जग्गामा लगाएका थियौ’, प्रसौनी गाउँपालिका–६ बेल्हियाका किसान वीरेन्द्र कुसावाहाले भने, ‘खेतमा गएर घोगा कोट्याउँदा आधी जसोमा दाना नै लागेको छैन।’

घोगामा राम्रोसँग दाना लागेको नदेखेपछि उनी चिन्तामा छन्। उनले दुई बिघा क्षेत्रफलमा मकै बाली लगाउँदा यस वर्ष चार लाख लाखको मकै बेच्ने सपना बुनेका थिए। ‘दुई लाख खर्च भएको छ। थप दुई लाख कमाउँछु भन्ने आस गरेको थिए, सबै डुब्ने भयो’, कुसावाहाले भने। खर्च गरेको रकम समेत उठाउन समस्या पर्ने देखिएको उनको गुनासो थियो।

कुसावाहाकाअनुसार गत कात्तिक महिनामा रोपिएको पायोनियर कम्पनीको बिउबाट उम्रिएको कुनै बोटमा दाना देखिन्छ तर धेरै दाना देखिँदैन। ‘हामीले बुझ्नै सकिरहेका छैनौँ, यस्तो कसरी भयो’, उनले भने। कृषकहरूले खेतमा लगाएका पायोनियर कम्पनीको ३३५५ र डेकाल कम्पनीको ९०८१ जातको मर्कैको घोगामा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी रामजिवन ठाकुरले पनि जानकारी दिए।

जिल्लामा रहेका १६ वटा स्थानीय तहहरूका किसानहरूले हिउँदे मकै ५८ सय ६० हेक्टर क्षेत्रफलमा लगाएको र कति क्षेत्रफलको मकैको घोगामा दाना नलागेको विवरण सम्बन्धित स्थानीय तहहरूलाई जानकारी गराउँन निर्देशन दिइएको ठाकुरले बताए। किसानको मकै बालीको घोगामा दाना नलागेपछि केन्द्रीय अनुगमन टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको जानकारी ठाकुरले दिए। राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमका अधिकृत डा. भीमनाथ अधिकारीको संयोजकत्वमा गठन गरेको टोली प्रसौनी गाउँपालिका र जितपुरसिमरा उपमहानगरपालिकामा किसानहरूले लगाएको मकै बालीको स्थलगत निरीक्षण गरेको उनले बताए।

अनुगमनको क्रममा प्रायः कात्तिक १० देखि मङ्सिर २०/२५ गते सम्म छरेको मकैका घोगामा दाना नलाग्ने समस्या देखिएको छ। ‘त्यस अघि र पछि छरिएको मकै बालीमा यो समस्या छैन,’ ठाकुरले भने, ‘यस वर्ष पुस २० देखि यस भेगमा जाडो बढेको र ढिलोसम्म पनि जाडो रहेकाले मौसमी अनुकूलता नमिल्दा यसरी मकैमा घोगामा दाना नलाग्ने समस्या देखिएको प्रारम्भिक अनुमान गरिएको छ। पायनियर पी ३५५५ जात भारतीय हाइब्रिड जातको मकै रहेको र यो नेपालमा दर्ता समेत रहेको बताए। यसरी दर्ता भएको कम्पनीको मकैको बिउमा समेत समस्या देखिनु दुःखद भएको गुनासो कृषकहरूले गरेका छन्।’

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस