२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बलात्कार आरोपमा महेश बस्नेतले पाए प्रहरी र सरकारी वकिलबाट ‘क्लिन चिट’

२५ चैत, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि क्लिन चिट दिएको छ । अनुसन्धान नै गर्न नपर्ने देखिएको भन्दै प्रहरी र सरकारी वकिल तहबाटै बस्नेतले सफाई पाएका हुन् ।

प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेको भन्दै पछि खुलेका बेला अनुसन्धान अघि बढाउने गरी जाहेरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय भइसकेको छ । ‘प्रथम दृष्टिमा जाहेरीमा भनिएजस्तो देखिएन भन्ने प्रहरीको भनाइ रह्यो’, स्रोतले भन्यो, ‘अनुसन्धान अधिकृतको सिफारिस अनुसारको निर्णय सरकारी वकिलबाट भएको छ ।’

बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो । तर, प्रहरीले अनुसन्धानका क्रममा जाहेरीमा भनिएअनुसार जबरजस्ती करणीमा संलग्न भएको आधारहरु नभेटिएको भनेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, सरकारी वकिल र प्रहरीबीच छलफलपछि जाहेरीमा प्रस्तुत विषयहरु तथ्यसंगत नदेखिएपछि तामेलीमा राख्ने निर्णय भएको हो ।

‘कानूनी रुपमा अघि बढ्नलाई तत्काल प्रस्तुत प्रमाणले पुग्दैन भन्ने निष्कर्ष रह्यो, त्यसपछि पछि कुनै प्रमाण देखिए त्यही अनुसार हुने गरी तामेलीमा राख्ने निर्णय भएको छ’, उनले भने, ‘सरकारी वकिलको कार्यालयबाट यो निर्णय भएको हो । पीडितले केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि बस्नेतले झुक्याएर बलात्कार र गर्भपतन गराएको जिकिरसहित किटानी जाहेरी दिएकी थिइन् ।’

 

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस