२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक बस्ने कृतिका यादवले उनकै श्रीमान् राजु यादव र ससुरा भोगेन्द्र यादवले एक बालकलाई गोप्य भिडियोहरु बनाउन लगाएको भन्दै मुद्दा दर्ताको लागि जिप्रका धनुषा अगाडी धर्नामा बसेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी बसेर मुद्दा दर्ता गरिदिन दबाब दिएकी हुन् । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलिरहँदा मेलमिलापको लागि कुराकानी भईरहेकै बेला कृतिकाको ससुरा भोगेन्द्र यादवले एक बालकलाई प्रयोग गरी गोप्य भिडियोहरु बनाएको थाहा पाएपछि उनले यादवमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी गएकी थिइन् । तर, प्रहरीले मुद्दा दर्ता नगरिदिएपछि उनी विहिबारदेखि नै धर्नामा बसेकी हुन् ।

कृतिका सँगै महिला अधिकारकर्मी बिनु यादव समेत धर्नामा बसेकी हुन । भारतको इलाहाबाद माईती रहेको कृतिकाको ८ बर्ष पहिले जनकपुरको राजु यादवसँग विवाह भएको थियो । ६ बर्षकी छोरीलाई लिएर न्यायको खोजीमा हिडेकी कृतिकालाई भारतीय भएकै कारण प्रशासनले नदेखेपछि बाध्य भएर उनी धर्नामा बसेकी हुन् ।

लेनदेन र परम्परा अनुसार एरेन्ज म्यारेज गरेकी कृतिकालाई छोरी भएपछि उनको श्रीमान र ससुराले दुःख दिन थालेको आरोप छ । भारतको राजधानी दिल्लीको नोयडास्थित सफ्टवेयर ईन्जिनीयरको रुपमा कार्यरत राजु यादव अर्कैसँग पल्केपछि कृतिकालाई डिभोर्स दिन खोजेको आरोप छ । उनले आफू बस्न चाहेपनि राजुले जबरदस्ती सम्बन्ध विच्छेदको मुद्दा दिएको बताईन् ।

ससुरा भोगेन्द्र यादवले एक १५ बर्षिय बालकलाई पछाडी लगाएर गोप्य भिडियोहरु खिचेको रँगेहात पक्राउ परेपछि उनलाई प्रहरीमा बुझाईएको थियो । प्रहरी समक्ष बालकले भोगेन्द्र यादवको नाम भनेका हुन् । यद्यपी, प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता नगरिदिएपछि प्रहरी कार्यालय अगाडी नै कृतिका र बिनु धर्नामा बसेकी हुन् ।

उनले सडकबाट गाडीहरु गुडीरहेकोले प्रहरी सँग संरक्षणको पनि माग गरिन् । उनले बेरियर लगाएर संरक्षण गरिदिन आग्रह गरिन् । उनले आफ्नो हक अधिकारको लागि लडिरहेको बताईन् ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस