२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

एमाले अनुशासन आयोगको प्रतिवेदन– तल्लो तहसम्म गुटको झुण्ड निर्माणमा केन्द्रीय नेताहरू नै संलग्न

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले केन्द्रीय नेताहरुकै कारणले पार्टीभित्र गुटगत गतिविधि बढेको निश्कर्ष निकालेको छ । एमालेको आज सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आयोगका अध्यक्ष केशवप्रसाद बडालले पेस गरेको प्रतिवेदनमा प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘गुटगत गतिविधिको स्रोत मुख्य गरी केन्द्रीय नेताहरू भएको देखियो । प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेको देखियो । प्रदेश अधिवेशन भइरहँदा, उद्घाटन समारोहमा नेताहरूले विचार प्रस्तुत गर्दा पार्टीको संस्थागत भावनाअनुरुप नै विचार प्रस्तुत गरेको पाइयो ।’

तर, अधिवेशनको दौरानमा प्रतिवेदनहरूमा साझा दृष्टिकोण हुँदाहुँदै पनि खासगरी नेतृत्व चयन गर्ने समयमा अधिकांश ठाउँहरूमा कतिपय केन्द्रीय नेताहरू समूहगत रुपमा विभाजित देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक रुपमा गुटको विपक्षमा देखिए तापनि कतिपय नेताहरूले आन्तरिक रुपमा गुट निर्माण गर्ने र सञ्चालन गर्ने गरेको पाइयो । यस्तो गुट वैचारिक नभइ आत्मकेन्द्रित रुपमा भएको देखियो । अधिवेशनको दौरानमा स्थानीय तहका कतिपय नेताहरू आफ्नो महत्वाकांक्षा पूरा गर्न केन्द्रीय नेताहरूलाई सिरानीमा राखेर गुटगत प्रचार गरेको देखियो । कतिपय ठाउँमा केन्द्रीय नेताहरू संलग्न नहुँदा नहुँदै पनि उनीहरुले गुट बनाएको भन्ने चर्चा गरेको देखियो ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस