२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

१० वर्ष कोरिया बसेर आएका शिवको लोभलाग्दो ड्रागन फ्रुट खेती

काठमाडौं । दस वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक ‘ड्रागन फ्रुट’ को खेतीमा लागेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् । ‘दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ,’ उनले भने, ‘त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसँग जोडिएको छु ।’

उनले स्वदेश फर्कँदा ड्रागन फ्रुटको खेती गर्ने योजना बनाएको बताए। सोही अनुरूप दुई वर्षअघि उनले ड्रागनफ्रुटका तीन सय बिरुवा लगाएका थिए । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै अहिले पाँच रोपनीमा एक हजार बिरुवा लगाइएको उनले बताए । ‘नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ,’ उनले भने, ‘गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ,’ उनले भने ।

सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परेपनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनी बताउँछन् । प्रतिकेजी ५ सय रूपैयाँका दरले बिक्री हुने र मागअनुसार आपूर्ति गर्न नसकिएको उनले बताए । ६ लाखको लागतमा व्यावसायिक खेती थाल्नुभएका थापालाई ‘फार्म’को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न तीन लाख रूपैयाँ उपलब्ध गराएको थियो ।

वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको उनले बताए । उनले ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग (फेछु) र चिनियाँ साग पनि लगाएका छन् । ‘ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ,’ उनले भने, ‘तीन–तीन महिनामा साग बेचेर एक लाख रूपैयाँ आम्दानी हुन्छ।” साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन् । उनले फार्ममा सेतोपाती समेत लगाएका छन् । काटेर सुकाएको सेतोपाती प्रतिकेजी सय रूपैयाँमा बिक्री हुने उनी बताउँछन् । ‘अहिले उत्पादन भएको ड्रागन फ्रुट लगायत कृषिजन्य उत्पादन नजिकैको बजारमा खपत भइरहेको छ, अब व्यवसायलाई विस्तार गर्ने सोचमा छु,’ उनले भने ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस