२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन चिनियाँ राष्ट्रपतिलाई फ्रान्ससहित इयुको दबाब

chinese president xinjiang

काठमाडाैं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली संघ (इयु) आयोगकी अध्यक्ष उर्सुला भान डेर लेनले सोमबार पेरिसमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि युक्रेनविरुद्ध रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न दबाब दिएका छन्।

साथै उनीहरूले चिनियाँ नेतासँग निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न पनि आग्रह गरेका छन्। सीको फ्रान्सको दुई दिने राजकीय भ्रमण सन् २०१९ यता पहिलो युरोप भ्रमण हो र भ्रमणका क्रममा उनले सर्बिया र हंगेरीमा पनि वार्ता गर्नेछन्।

विश्लेषकहरूले कुनै ठूलो सफलताको अपेक्षा नगरे पनि राष्ट्रपति सीले युक्रेनमा शान्ति पाउन चाहेको बताएका छन्। भान डेर लेनको उपस्थितिमा प्रारम्भिक त्रिपक्षीय बैठकको सुरुआतमा म्याक्रोनले युक्रेनलगायत ‘प्रमुख संकटहरू’ मा बेइजिङसँगका समन्वय ‘पूर्णरूपमा निर्णायक’ भएको भन्दै युरोप–चीन व्यापारमा ‘सबैका लागि निष्पक्ष नियम’ को आग्रह गरे।

‘हाम्रो महादेशको भविष्य स्पष्टरूपमा चीनसँग सन्तुलित तरिकाले सम्बन्ध विकास गर्ने हाम्रो क्षमतामा निर्भर हुनेछ,’ म्याक्रोनले भने। चिनियाँ राष्ट्रपति सीले चीन र इयुले ‘साझेदार रहनुपर्छ’ र ‘रणनीतिक समन्वय गर्न’ र यसरी ‘विश्व शान्ति तथा विकासमा नयाँ योगदान दिनुपर्ने उनकाे भनाइ छ।

युक्रेन युद्धमा आधिकारिकरूपमा तटस्थ रहँदै चीनले अनिवार्यरूपमा रुसको समर्थन गरिरहेकामा युरोप चिन्तित छ। रुसले पहिला नै हतियारहरूको उत्पादनमा चिनियाँ मेसिन उपकरणहरूको प्रयोग गरिरहेको छ। ‘रुसलाई दोहोरो प्रयोगका सामानहरूको डेलिभरी रोक्न थप प्रयासको आवश्यकता छ जसले युद्धको मैदानमा आफ्नो बाटो खोज्छ,’ भान डेर लेनले वार्तापछि भनिन्, ‘यसले इयु–चीन सम्बन्धलाई असर गर्दछ।’

‘फ्रान्स र इयुले पनि युक्रेनविरुद्ध रुसको आक्रामक युद्ध अन्त्य गर्न रुसमाथि आफ्नो सबै प्रभावको प्रयोग गर्नका लागि चीनमाथि भरोसा गर्दछन्,’ उनले थपिन्, ‘युरोप र चीन दुवैको शान्ति र सुरक्षामा साझा चासो छ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन नजिकैका सेनालाई संलग्न गर्दै आणविक हतियार अभ्यासको आदेश दिएको केही घन्टापछि भान डेर लेनले सी जिनपिङले रुसको आणविक धम्कीमा तनाव कम गर्न ‘महत्त्वपूर्ण भूमिका’ निर्वाह गर्ने भन्नेमा आफू ‘आश्वस्त’ रहेको पनि बताइन्।

म्याक्रोन र भान डेर लेन दुवैले वार्तामा व्यापारलाई प्राथमिकता दिएको संकेत गरेका छन्। उनीहरूले युरोपले चीनसँगको आर्थिक सम्बन्धमा आफ्नो ‘रणनीतिक स्वार्थ’ को रक्षा गर्नुपर्नेमा जोड दिएका छन्। ‘युरोप आफ्नो अर्थतन्त्र र यसको सुरक्षालाई जोगाउन आवश्यक पर्ने कठोर निर्णय लिन पछि हट्ने छैन,’ उनीहरूले भने। रासस

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस