२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गण्डकीमा बाढीपहिरो, दुई बालबालिकाको मृत्यु

१२ असार, काठमाण्डौँ । मनसुन सक्रिय भएसँगै गण्डकीमा आएको बाढीपहिरोमा परी दुई बालबालिकाको ज्यान गएको छ भने चार जना हराइरहेका छन्।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए। पहिरोमा परेर ७० वर्षीया लालमाया बन्जारा घाइते भएकी छन्।

पहिरो गएको वेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो। पहिरो पन्छाउँदा बालिका आयुष्मा भने मृत भेटिएकी छन् ।

त्यस्तै, पहिरो जाँदा पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर भत्किएको छ। पहिरोमा परेर उनका छोरा तीन वर्षीय अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस