२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

महाकाली नदीले पार गर्यो खतराको रेखा : दार्चुला सीमा नाकाका पुलहरु बन्द गरिए

दार्चुला । दार्चुलामा निरन्तर बर्षाका कारण महाकालीको सतह बढ्दै गएपछि सीमा नाकाका पुलहरु बन्द गरिएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गरी नेपाल–भारत सीमा नदी महाकालीमा लगाएका सबै झोलुङ्गे पुलहरु बन्द गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरुमा आवतजावतमा रोक लगाइएको जनाइएको छ । बिरामी र अतिआवश्यक काम बाहेकलाई नेपाल(भारत दुवै क्षेत्रमा आउजाउमा रोक लगाइएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।

जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माल लगायतका पुलहरुमा आकस्मिक बाहेकको आवतजावत बन्द गरिएको हो । तीन दिनदेखि लगातार पानी परेको हुनाले महाकालीको बहाब निरन्तर बढिरहेको छ । त्यस्तै निरन्तरको बर्षाका कारण महाकाली लोकमार्गको दार्चुला-गोकुलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको छ । बिहान सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस