२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

एमालेबाट मन्त्रीको सम्भावित सूचीमा १५ जना [नामावलीसहित]

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी गराउनका लागि १५ जना सांसदको सूची तयार पारेका छन्। सचिवालयको बुधबार बसेको बैठकले एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको छनोट र मापदण्ड तयार गर्ने अधिकार अध्यक्ष ओलीलाई जिम्मा दिएको थियो। उनी आज प्रधानमन्त्रीमा नियुक्त भएसँगै भोलि हुने सपथ ग्रहणमा मन्त्रीहरुपनि नियुक्त हुने छन् ।

ओलीले आफ्नो नेतृत्वको सरकारमा को–को मन्त्री बनाउने भनेर सूची तयार पारेर निकट नेताहरूलाई जानकारी गराएको एमालेका एक पदाधिकारीले बताए। ती पदाधिकारीका अनुसार ओलीले मन्त्री बनाउने सूचीमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्म, लालप्रसाद (एलपी) साँवा लिम्बू छन्।

यसैगरी ओलीले सुनिता बराल, कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, भीम आचार्य, अञ्जान शाक्य, देवेन्द्र दाहाल, पदम गिरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बनाउन चाहेका छन्। गिरी र राई यसअघि पनि मन्त्री थिए। गिरी ओलीनिकट भएका कारण मन्त्रीमा दोहोरिन सक्ने एमालेका सासंदहरू बताउँछन्। एमालेका ती पदाधिकारीका अनुसार महासचिव शंकर पोखरेल अर्थमन्त्रीका आकांक्षी छन्।

ओलीले सचिवालय बैठकमा विगतमा राम्रो काम गरेका र नजिता राम्रो दिने सम्भावना देखेको सांसद लैजाने बताएका थिए। ओलीले उपप्रधानमन्त्री नराख्ने संकेत गरेका कारण पनि अर्थमन्त्रीमा पोखरेललाई लैजान सक्ने सम्भावना रहेको ती नेताले बताए। पोखेरल सासंद छैनन्। सांसद नभएका व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने संवैधानिक प्रावधान छ। एमालेमा ओलीपछिको नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल दाबेदार छन्। जसका कारण दुवैजना सरकारमा जान खोजिरहेको एमाले स्रोतको दाबी छ। पौडेल पूर्वराष्ट्रपति विद्या भण्डारी नजिकका मानिन्छन् भने पोखरेल ओलीका विश्वास पात्र हुन्। त्यही भएर ओलीले यसपटक पौडेलभन्दा पोखरेललाई अर्थमन्त्री बनाउन सक्ने ओलीनिकट एमालेका अर्का एक पदाधिकारीले बताए।

ओली झापाबाट प्रत्यक्ष निर्वाचित सांसद लिम्बू, समानुपातिक बराल र राष्ट्रसभा सदस्य दाहालमध्ये एकजनालाई मन्त्री बनाउने पक्षमा छन्। लिम्बू म्यानपावर व्यवसायी हुन् भने दाहाल २० वर्षयता ओलीको साथमा छन्। अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा आएकी बराल ओलीनिकट युवा नेता हुन्। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘कांग्रेस–एमालेबीच भएको सहमतिका आधारमा पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’

एमालेले सरकारमा सहभागी हुन मापदण्ड तयार पारेको जानकारी उनले दिए। ‘त्यसकै आधारमा मन्त्री छनोट गरिनेछ। मन्त्री कसलाई बनाउने भन्ने जिम्मा पार्टी अध्यक्षकै हो। अहिले को–को मन्त्री बन्दै हुनुहुन्छ। त्यस विषयमा छलफल भइरहेको छ’, गुरुङले भने। तपाईँ पनि मन्त्री बन्ने सूचीमा हुनुहुन्छ भन्ने प्रश्नमा गुरुङले भने, ‘यो त पार्टीको कुरा हो। अहिले यस विषयमा बोल्न उचित नहोला।’

 

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस