२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ । बुधवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएसँगै मन्त्रीले प्रेस नोट जारी गर्दै यस्तो बताउनु भएको हो ।

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्य चौरमा बुधवार दिउँसो दुर्घटना भएको एयर डाइनेष्टिको ९एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वाभाविक ढिलाइ भएको गुनासो प्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ ।

दुर्घटना स्थल पहिचान हुनासाथ प्रतिकुल मौसमका बाबजुद उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर पठाइएको सो हेलिकप्टर फिर्ता हुन नसकी राती पनि सोही स्थानमा नै रहेको जानकारी गराउनु भएको छ । करिब १५ दिनको अवधिमा दुई वटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निष्कर्ष सहित मन्त्रालयले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राख्दै आजैबाट तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।

यसै बिच मन्त्रीले एक हप्ताभरका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरूलाई स्थगित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायहरूलाई परिचालन गर्ने तयारी गर्नुभएको जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस