२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ब्रेकर नै लगाउनुपर्ने गरी ठूलो ढुंगा खसेर गल्छी-रसुवागढी सडक अवरुद्ध

नुवाकोट । सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्णरूपमा बन्द भएको छ ।

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ। यही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा सवारीसाधन आवातजावत गर्न समस्या भएको छ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौं नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। गएराति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । । पहिरो पन्छाउन आज बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस