२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

पाइलट बाबाको निधन

Pilot Baba passed away

काठमाडौं । भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा निधन भएको छ। मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग उहाँले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय वायुयान सेवामा पाइलट रहेकाले उहाँलाई पाइलट बाबा भनिएको हो। यही नामले उहाँ प्रशिद्ध हुनुभयो ।

पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाउनुभएको छ । आश्रममा उहाँ बेला बेलामा आएर बस्ने गर्नुहुन्थ्यो ।
नेपालमा उहाँका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य हुनुहुन्छ । भारतको प्रयागमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उहाँले आश्रय दिने गर्नुभएको थियो ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिनुभएको थियो । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उहाँले जुना अखडा नामका आश्रम चलाउने गर्नुभएको थियो । उहाँलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो। जुना अखडाका सबै आश्रममा तीन दिनसम्म शोक मनाइएको छ । उहाँलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस