२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

यो पटकको आफ्नो बाँकी कार्यकाल सम्झिदै प्रधानमन्त्री ओली भन्नुभयो एक हप्ता अघि नै छोड्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना १५ दिन बाँकी रहेको स्मरण गर्नुभएको छ । शनिवार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘मलाई मन नपराउनेहरूलाई खुशीको खबर भन्न चाहन्छु । मेरो यस पटकको प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छ । त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु मैले । बढी खाऊँ भन्ने होइन कि समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति हुन्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिलाई घृणा गर्ने सामाजिक अराजकता बढेर गएको दाबी गर्नुभयो । यस्तो अराजकताले समाजको हित नगर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘राजनीतिलाई घृणा गर्ने भन्ने कुरा, व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा, थिति बनेको व्यवस्थालाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो । त्यसले समाजलाई कुनै राम्रो अवस्थामा पुर्याउँदै पुर्‍याउँदैन । ती कुराले समाजलाई बेथितितिर लान्छ, घृणाले समाजलाई छिन्नभिन्न मात्रै गर्छ । हामीले प्रजातान्त्रिक समाज स्थापना गर्न खोजेको हो । हामीले सकारात्मक, विनम्र, शान्त जीवन पद्धति, नरम, राम्रो कुरा गर्ने जीवनपद्धति, सबैको अधिकारलाई सम्मान गर्ने जीवन पद्धति खोजेको हो ।’

उहाँले आफू विरुद्ध नाराबाजी गर्नेहरूलाई छोडिसकेको बताउँदै कसले के गर्छ त्यसलाई राज्यका निकायले समाउने बताउनुभयो । उहाँले देशमा कानूनी राज हुनुपर्ने र अधिनायकवाद हुन नहुने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस