२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मन्थली–काठमाडौं सडक फेरि अवरूद्ध

मन्थली । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ। दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो।

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन्। अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस