२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, असोज २५ । रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको छ।

रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दस बजेतिर दुर्घटनामा परेको थियो।

दुर्घटनाको खबरपछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो। सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाएकोमा चिकित्सकले बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस