२ कार्तिक, काठमाण्डौँ । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा खुशी छाएको छ भने विश्वभरबाट प्रतिक्रिया आउन थालेका छन् ।
सिनवारकै कारण विनाशकारी युद्ध भएको भन्दै इजरायललगायत उसका समर्थक देशले सिनवारको मृत्युलाई महत्त्वपूर्ण सैन्य उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।
सिनवारको मृत्युपछि युद्ध अन्त्य हुने आसामा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव नै मनाएका छन् । सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयीभावमा झण्डा फहराएका छन् ।
प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार

