२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

भारु सटहीमा मनपरी शुल्क, तिहार–छठ किनमेलमा नेपालीलाई समस्या

काठमाडौं । तिहार र छठ पर्वका लागि सीमापारि भारतीय बजारमा सामान खरिद गर्न गएका महोत्तरीका नेपाली ग्राहकहरू भारुको अभावमा चर्को बट्टा (कमिशन) तिर्न बाध्य भएका छन्। भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटमा नेपालीहरूले एक सय भारतीय रुपैयाँको लागि रु एक सय ६६ देखि ६८ सम्म तिर्नुपरेको छ।

जलेश्वर–२ का सुदीश साहले भारतीय रुपैयाँ नहुँदा सामान खरिद गर्न नेपाली पैसामा अतिरिक्त ६ प्रतिशत बट्टा तिर्नुपरेको बताए। भिठ्ठामोडमा पुगेकी बन्दना पाण्डेले पनि रु एक हजार नेपालीका बदलामा मात्र भारु छ सय पाएको अनुभव सुनाइन्। यस्तै, पिपरा गाउँपालिका–७ का वैद्यनाथ चौधरी, एकडारा गाउँपालिका–४ का रामनाथ राय र शिवशङ्कर राय लगायतले पनि यस्तै समस्या भोगेका छन्।

भारतीय सीमाक्षेत्रका व्यापारीले चाडपर्वको किनमेल गर्न आएका नेपाली ग्राहकसँग भारु एक सयका लागि रु एक सय ६६ माग्ने गरेका छन्। यसबाहेक, सीमाक्षेत्रमा सटही गर्ने युवाहरूले पनि उस्तै दरमा पैसा साट्ने गरेको बताइएको छ।

सुन तस्करी र हुण्डी कारोबारका कारण भारतीय बजारमा भारु अभाव भएको र नेपालीहरूलाई उच्च दरमा बट्टा तिर्न बाध्य बनाइएको व्यापारीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस