२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

‘पूँजी बजारका समस्यालाई अवसरका रूपमा बदल्ने कोशिस गर्छु’ : बोर्ड अध्यक्ष श्रेष्ठ

१२ मंसिर, काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठको शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुला रुपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत् समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका थिए ।

उनले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्ष श्रेष्ठले गतिशील ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरे ।अर्थमन्त्री पौडेलले अध्यक्ष श्रेष्ठले राम्रा काम र नतिजाद्वारा सबै आशंकालाई चिर्दै पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गरेका थिए । नव नियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस