२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै पेस गरिने

१२ पौष , काठमाडौँ । संघीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी केन्द्रित भएका छन् । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसले समितिका बैठकलाई परिणामुखी बनाउन आआफ्ना सांसदलाई निर्देशन समेत दिएका छन् ।

सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौला समितिका बैठक नियमित राख्न नसकिएको, बैठकमा ‘कोरम’ नपुगेको यथार्थलाई स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर समितिलाई क्रियाशील बनाउन सत्ता साझेदार दलहरु केन्द्रित रहेको बताउँछन् ।

पछिल्ला दिन संसदीय समितिका बैठक लगातार बसिरहेका छन् । हाल प्रतिनिधिसभाका विभिन्न समितिमा १५ र राष्ट्रियसभाको विधायन समितिमा चार वटा विधेयक छलफलकै क्रममा छन् । मुख्य सचेतक बर्तौलाले समितिका बैठक र कामकारबाहीबारे निगरानी गरिने र प्रत्येक दलले विशेष परिस्थितिबाहेक अन्य काममा जोडिएर विधि निर्माणको काममा उपस्थित हुन नसकेको भन्न नपाइने गरी सबै सांसदलाई निर्देशित गरिएको स्पष्ट पारे ।

विधेयक निर्माणमा भएको विलम्बलाई लिएर सांसदको आलोचना हुँदै आएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा ढिलाइ भएपछि समयसीमा तोकेर जान आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस