२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

डा. भीम रावलसहितले खोल्ने पार्टीको नाम के रहन्छ ?

काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले आउँदो बुधबार नयाँ पार्टी घोषणा गर्दैछन्। त्यसका लागि पत्रकार सम्मेलनको आयोजना गरेका छन्। यससँगै रावलको पार्टीको नाम के रहन्छ भन्नेबारे आमजिज्ञासा उठेको छ। रावल स्वयम्‌ले भने आफ्नो पार्टीको नाम कम्युनिष्ट नरहने बताएका छन्।

सोमबार सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशीसँग भेट गरेका रावलले भनेका छन्, पार्टीको नाम गैरकम्युनिष्ट रहन्छ। अब कन्युनिष्ट राखिन्न। सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत रहेका रावल निकट नेता कृष्णराज सुवेदी पनि पार्टीको नाम सबै अटाउने रहने बताउँछन्। पार्टीको नाम सबै अटाउने रहन्छ। कम्युनिष्ट, कम्युनिष्ट मात्रै बढी भइसके। यतिका कम्युनिष्ट भएर के भएको छ र, सुवेदीले भने।

त्यसो त रावलले गैरकम्युनिष्ट नेताहरूलाई पनि मिलेर जानका लागि प्रस्ताव गरिरहेका छन्। उनले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ललाई समेत भेटेर मिलेर जान प्रस्ताव गरेका छन्। सोमबार बिहान भेटेका तारा जोशी भने नेकपा (एकीकृत समाजवादी) का पूर्वकेन्द्रीय सदस्य हुन्। गत निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका जोशी सुदूरपश्चिम प्रदेशमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस