२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पक्राउ गर्न पुगे अधिकारीहरू

Officials Arrive to Arrest Former South Korean President Yoon

काठमाण्डौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न अधिकारीहरू राष्ट्रपति भवन पुगेका छन्। भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका र अन्य अधिकारीहरू युनलाई पक्राउ गर्न शुक्रबार सउलस्थित उनी बस्दै आएको भवनमा पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

सैनिक कानुन लागू गर्ने प्रयास संसदले विफल पारेपछि युन निलम्बित छन्। सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसदमा दर्ता भएको महाभियोग पारित भएको थियो। महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ। उनीविरूद्ध मंगलबार उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

उनलाई जनवरी ६ भित्र पक्राउ गरी सउल डिटेन्सन सेन्टरमा राख्न भनिएको थियो। सोधपुछका लागि पटकपटक बोलाउँदा युन उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी नै जारी भएको हो। अदालतले उनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको थियो।

शुक्रबार सरकारी अधिकारीहरू युनको कार्यलय प्रवेश गर्दा त्यहाँ उनका समर्थकहरूको ठूलो भिड उपस्थित रहेको र उनीहरूले युनको पक्षमा नाराबाजी गरेको समाचार संस्था रोयटर्सले लेखेको छ। कार्यलय भित्र राष्ट्रपति सुरक्षा सेवा (पिएसएस)का अधिकारीहरूले पनि युनलाई पक्रन नदिन अवरोध गरेको भनिएको छ। यसअघि कार्यालयमा सर्च गर्दा पनि पिएसएसले रोकेको थियो।

यद्यपि राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास भइरहेको दक्षिण कोरियाली अखबार योनहाप न्युजले लेखेको छ। दक्षिण कोरियामा राष्ट्रपतिविरूद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो पटक हो।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस