२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

एमाले नेताहरूको दबाबमा सुनसरीको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल

NCP (Unified Socialist) and Durga Prasai's Supporters at the Airport to Welcome Bhim Rawal

२० पुस, विराटनगर । नेकपा एमालेको कारबाहीमा परेका नेता भीम रावललाई विराटनगरमा नेकपा एकीकृत समाजवादी पार्टी र दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका छन् । एमालेबाट निष्कासनमा परेपछि शनिबार विराटनगर आएका उनलाई विमानस्थलमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिल आलमसहित नेताहरूले स्वागत गरे ।

उनलाई स्वागत गर्न दुर्गा प्रसाईंले नेतृत्व गरिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का सदस्य सतिश पोखरेल लगायत पुगेका थिए । पोखरेल दुर्गा प्रसाईंले सुरु गरेको अभियानको केन्द्रीय सदस्य हुन् । उनी राजावादी हुन् । भीम रावल निकट स्रोतका अनुसार रावललाई स्वागत गर्नका लागि एकीकृत समाजवादी पार्टीको युवा नेताहरूलाई बोलाइएको थियो । तर राजतन्त्रको पक्षधर पोखरेल भने आफ्ना केही सहयोगीसहित पुगेका थिए ।

कार्यक्रम पनि सर्‍यो

भीम रावल सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि आएका थिए । तर उनले उद्घाटन गर्ने भनिएको कार्यक्रम भने २२ पुससम्मका लागि सरेको छ । विराटनगर विमानस्थलबाट भीम रावल कार्यक्रमका लागि भन्दै आएका आयोजककै गाडीमा हिँडेका थिए । तर उद्घाटन सरेपछि उनी भरौल चोक पुगेर फर्किए । ‘उहाँ आउनु भएको थियो तर उद्घाटन नै सरेपछि मैदान पुग्नु भएन्, भरौल चोकबाटै फर्कनुभयो,’ एकीकृत समाजवादीका एक नेताले भने ।

ती नेताका अनुसार नेकपा एमाले नेताहरूले दबाब दिएका कारण प्रतियोगिताको उद्घाटन सरेको हो । आयोजक स्रोतले पनि राजनीतिक दबाबका कारण उद्घाटन सरेको जनाएको छ । आज गर्ने भनिएको उद्घाटन २२ पुसमा हुनेछ । आयोजक क्लबका अध्यक्ष विमल कार्की हुन् । उनले प्रतियोगिता २२ गते उद्घाटन गर्ने भन्दै पुस १८ गते नै निर्णय गराएका थिए । आयोजक एउटा पक्ष भने स्वागत गर्नका लागि आएको थियो । भरौल पुगेर फर्किएका रावलले मोरङ र सुनसरीमा भेटघाटमा लागेका छन् ।

 

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस