२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

पोखराको भन्दा कम धरौटीमा रिहा भए रवि

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

यसअघि पोखरास्थित कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी प्रकरणमा उनलाई ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा गरेको थियो। अब काठमाडौंमा पोखराको तुलनामा कम धरौटीमा रिहा भएका छन्।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले थुनछेक बहसपछि सो आदेश दिएको हो। यससँगै लामिछानेले हिरासतबाहिर रहेरै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन्।

लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको करिब ५ करोड ७८ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप छ। प्रहरीको अनुसन्धान अनुसार गोरखा मिडिया नेटवर्कमार्फत कानुनविपरीत उक्त रकम दुरुपयोग गरिएको दाबी गरिएको छ।

अब यो प्रकरणको थप अनुसन्धान जारी रहने छ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस