काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य राजेश तिमिल्सिनालाई निलम्बन गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार तिमिल्सिनाविरुद्ध उजुरी परेकाले छानबिनका लागि उनलाई निलम्बन गरिएको हो। ‘काम कारबाहीका विषयमा प्रदेशबाट उजुरी परेकाले छानबिनका लागि निलम्बन गरिएको हो’ उनले भनिन्।
तिमिल्सिनाले साधारण सदस्यबाट हटाइएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीमा पुनःस्थापना गर्न माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए। अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले अनुसन्धान आवश्यक रहेको भन्दै तिमिल्सिनालाई निलम्बन गरिएको जानकारी पत्रमार्फत पठाएका थिए। आयोगले शुक्रबार पत्र पठाएर उनलाई औपचारिक रूपमा सूचित गरेको हो।
यसअघि, अनुशासन आयोगले तिमिल्सिनाको गतिविधिमा आपत्ति जनाउँदै कारबाही प्रक्रिया अघि बढाउन आइतबार बैठक बोलाएको थियो। मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमिल्सिनाको धारणा सार्वजनिक भएपछि कोशी प्रदेश कमिटीले बैठक बोलाउँदै प्रदेश अध्यक्षमाथि कारबाही प्रक्रिया थाल्न चाहेको थियो। तर, प्रदेशका केही सदस्यहरूले कारबाही गर्ने प्रस्तावप्रति असहमति जनाउँदै बैठकमा नआउने चेतावनी दिएका थिए।
पूर्वमहामन्त्री मुकुल ढकालले फेसबुकमार्फत अनुशासन आयोगका संयोजक भरतमणि देवकोटामाथि आरोप लगाएका छन्। उनले पार्टीमा भाइरस प्रवृत्तिका व्यक्तिहरू सक्रिय रहेको र देवकोटाले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई दबाब दिएको बताएका छन्। ढकालले देवकोटालाई राजदूतको भागबन्डामा असफल भएपछि पार्टीविरुद्ध गतिविधि थालेको आरोप लगाउँदै भने, “पार्टीलाई ऋणमा डुबाएर एकपक्षीय निर्णय गराउँदै हिँड्ने देवकोटाको योजना असफल हुनेछ। घरबेटी बा, तपाईंको दुषित राजनीति सफल हुन दिनेछैनौँ।”

